रुपन्देही बाल गृहलाई प्रसाद फाउन्डेसन र रुपन्देही सेवा समाजबाट सहयोग प्रदान !!!

रुपन्देही बाल गृहलाई प्रसाद फाउन्डेसन र रुपन्देही सेवा समाजबाट सहयोग प्रदान !!!

शशि पन्थी भैरहवा, २ फागुन । रुपन्देही सेवा समाज टेक्ससास अमेरिकाले शुक्रबार सिद्धार्थ बालगृह भैरहवालाई नगद ३० हजार सहयोग गरेको छ । सिद्धार्थ बालगृहका सञ्चालक कृष्णमाया गुरुङलाई सो रकम समाजका अध्यक्ष जगदिश न्यौपाने र शिक्षाविद् बालकृष्ण भट्टराईले संयुक्त रुपमा हस्तान्तरण गरे । सहयोग रकम हस्तान्तरण गर्दै प्रमुख अतिथि भट्टराईले समाजका अध्यक्ष न्यौपानेले गरेको पुण्य कामको प्रशंसा गरे । उनले बालबालिकालाई अध्ययनमा लाग्न सुझाव पनि दिए । रुपन्देहीबाट अमेरिका गएर बसेका नेपालीहरुले देउसीभैलो खेलेर बचेको पैसा नेपालमा आएर बालगृहमा रहेका बालबालिकालाई सहयोग गरेको अध्यक्ष न्यौपानेले बताए । यस अघि अमेरिकामा बस्दै आएका प्रसाद फाउण्डेशनका अध्यक्ष पुण्डरी अर्यालद्धारा पनि बालगृहलाई सहयोग गरेको प्रेरणाले यो गर्न उत्साह मिलेको उनले बताए । फाउण्डेशनका अध्यक्ष अर्यालद्धारा हरेक वर्ष प्रदान गर्दै आएको दुई जना बालबालिकालाई ६ हजारका दरले १२ हजार छात्रवृति पनि कार्यक्रममा हस्तान्तरण गरिएको थियो । सो अवसरमा तिलोत्तमा नगरपालिका–८ निवासी अंकित मेडिकल हल बुटवलका सञ्चालक कृष्ण न्यौपानेले पनि बालगृहलाई नगद ५ हजार सहयोग गरे । उनले बालगृह सञ्चालनमा केही सहयोग गर्न इच्छा लागेकाले सो सहयोग गरेको बताए । कार्यक्रममा बालगृह सञ्चालक कृष्णमाया गुरुङले विभिन्न आरोह अवरोहका बीच गरेर बालगृह यहाँसम्म पुगेको बताइन् । उनले सहयोग गर्नेलाई आभार व्यक्त गरिन् । कार्यक्रममा लुम्बिनी प्रेस क्लबका कार्यसमिति सदस्य शंकर पाण्डेले सञ्चारको क्षेत्रबाट बालगृहलाई सक्दो सहयोग गर्ने बताए । साहित्यकार रुद्र ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बालगृह ८ वर्षअघि देखि लुम्बिनीरोडमा सञ्चालनमा आएको हो । बालगृहमा हाल १९ जना बालबालिका रहेका छन् ।